एमालेजस्तो पारदर्शी पार्टी अरु छैनन् : भरतमोहन 'डेरामा बस्छु, लुकाएको सम्पत्ति देखाए दण्डित हुन तयार छु'
ज्ञानेन्द्र खड्का
३० पुस, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं आर्थिक विभाग प्रमुख भरतमोहन अधिकारीले नेकपा एमालेजस्तो पारदर्शी पार्टी नेपालमा अरु नभएको बताएका छन् ।
कसैले पैसा कमाउने भए राजनीतिको साटो कृषि व्यवसाय या उद्योग गरे हुने अधिकारीको सुझाव छ । पैसा कमाउनका लागि राजनीतिमा लाग्नेहरुकै कारण नेपालमा नेताप्रति जनताको वितृष्णा बढेको अधिकारीको बुझाइ छ ।
‘पैसा कमाउन मैले राजनीति गरेको होइन । युवापुस्तालाई पनि म यही भन्छु, पैसा कमाउने हो भने उद्योग खोल्दा, व्यापार गर्दा राम्रो हुन्छ,’ अधिकारीको थप भनाइ छ, ‘मलाई कुनै लोभ छैन, लोभ भएदेखि मैले व्यापारीहरुसँग सम्बन्ध राख्थें ।’
कलंकी नजिकै निवासमा एमाले नेता अधिकारीले अनलाइनखबरसँग भने -’अहिले पनि म एउटै घरमा १५ वर्षदेखि भाडामा बसिरहेको छु । म कम्युनिष्ट भए पनि गान्धीलाई मान्ने मान्छे हुँ । पाँचपटक अर्थमन्त्री भइसकेको मान्छे, मन्त्री पदबाट बाहिरिएपछि फर्केर आउने यही डेरामै हो । राजनीतिलाई पैसा कमाउने माध्यम बनाउनु देशमाथि खेलवाड गर्नु हो ।’
‘तर, तपाईको सम्बन्ध मारवाडी समुदायका व्यापारीसँग बढी छ भन्ने सुनिन्छ नि ?’ अनलाइनखबरको यस्तो प्रश्नमा अधिकारीले बिराटनगरका गोल्छा परिवारसँग आफ्नो सम्बन्ध पुरानो रहेको र बिराटनगरमै जन्मे- हुर्केकाले मान्छेहरुले त्यस्तो भन्ने गरेको स्पष्टीकरण दिए । तर, आफू कम व्यापारीसँग सम्बन्ध भएको नेतामा पर्ने उनले बताए ।
आफू डेरामै बसेपछि राजधानीमा छोरीलाई घर बनाइदिएको आरोप छ नि भन्ने अर्को प्रश्नमा अधिकारीले आफ्ना तीनवटै छोरीले मासिक लाखभन्दा माथिको आम्दानी गर्ने गरेको र आफूलाई समेत खर्च दिने गरेको बताए ।
दिल्लीमा लामो समय उपचार गरेर, मुटुको शल्यक्रियासमेत गरेर फर्केका, नाताले मनमोहन अधिकारी भाइ पर्ने ७७ वर्षीय अधिकारीले भने, ‘अहिले म पूर्णरुपमा स्वस्थ छु, डाक्टरले पनि मलाई सक्रिय रहनू भन्ने सल्लाह दिएका छन् । सभासदमा नाम परेपछि त झन् एक वर्षमा संविधान कसरी बनाउने भनेर म अझ सक्रिय भएको छु ।’
०४७ सालको संविधान निर्माणमा वाममोर्चाका तर्फबाट भाग लिएका अधिकारीले सबैलाई मान्य हुने संविधान जारी गर्न नसकिने तर, सबैका भावना समेटिने संविधान करिब डेढ वर्षमा जारी गर्न सकिने बताए ।
1 comments
Write Down Your Responses


25 October 2014 at 04:53
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।