कमेडियन कलाकार अबको हिरो ?

comedy
‘४७ मा रनिङ गरिराखेको मलाई एक दिन अचानक फिल्मको हिरो बन्ने अफर आएपछि केही समय बिचार गरौं भन्दै थिएँ। पत्रिकामा हेरेको सलमान खान त ४८ वर्षको पो रहेछन्। अनि अमिताभ बच्चन त झन् ६०–६५ वर्षका। यो हिसाबले सबैभन्दा योङ त मै भएँ। अनि ठिक छ फिल्म खेलौं भनेर फिल्म खेलेको यो फिल्ममा सबैभन्दा राम्रो मै देखिएको छु हास्य अभिनेता शिवहरि पौडेल गफिरहेका थिए सोमबार राजधानीमा यसो भन्दै। सन्दर्भ थियो आगामी पौष २६ मा रिलिज हुन लागेको कमेडी जेनर फिल्म छ एकान छको। हास्य कलाकारको वर्चस्व रहेको फिल्मका बारेमा उनले अझै ठट्ट्यौली शैलीमा थपे– ‘अचेल फिल्म हिट भएका त्यत्ति देखिँदैनन्। त्यही भएर होला हामी हास्य कलाकारहरू फिल्ममा आएर हिरो बन्नुपरेको। गीतमा कास्टिङ देखिहाल्नुभो। अलि अलि पारा ल्याएकै छौं। अबको हिरो त हामी नै हौ।’
अर्का कलाकार सन्दीप क्षेत्रीले पनि ठट्ट्यौली गर्दै आफूलाई अब्बल दाबी गर्न पछि परेनन्। ‘वास्तवमा शिवहरि दाइले झुटो इन्फर्मेसन दिनुभएको छ। फिल्ममा सबभन्दा बढी दर्शकले मलाई पो मन पराउँछन्’, सन्दीपले कथे– ‘म एक दिन ड्राइभिङमा थिएँ। दीपक (राज गिरी) दाइको फोन आयो। फिल्मको हिरो बन्ने हो भन्नु भो। मैले हुन्छ भनें। हिरो बन्ने भनेपछि छोड्ने कुरै हुँदैन।’
हाँसो र मनोरञ्जनात्मक रूपमा अघि बढेको कार्यक्रममा फिल्मका निर्माता तथा अर्काे हिरोसमेत रहेका दीपकराज गिरीले फिल्ममा टेलीभिजनकर्मीहरू बढिरहेको र उनीहरूले भारतीय टेलीभिजनका कार्यक्रमसँग प्रतिस्पर्धा गर्दै आएकाले फिल्ममा पनि स्पर्धा गर्न सक्ने सामथ्र्य राख्ने दाबी गरे। फिल्म निर्माण गर्नुको कारण खुलाउँदैं उनले भने– ‘मल्टिप्लेक्समा चल्ने फिल्म सिंगल थिएटरमा नचल्ने र सिंगल थिएटरमा चल्ने फिल्म मल्पिटप्लेक्समा नचल्ने भएकाले यो कमेडियन फिल्मलाई दुवैमा चलाउन सकिन्छ कि भन्ने हाम्रो उद्देश्य हो।’ उनले भने– ‘यसमा टेली सिरियलको ह्याङ छैन। राम्रो फिल्म बनेको दाबी त गर्दैनौं। तर, फिल्म नसकिन्जेल बोर हुँदैन, यो ग्यारेन्टी दिन सक्छौं।‘ गिरीले फिल्ममा हास्य कलाकारको वर्चस्व रहे पनि गाईजात्रा भन्न नमिल्ने बताए। ‘तीन जना नेतासँगै आए भनेर चुनाव आएको ठान्नुहुँदैन, अरू बेला पनि आउन सक्छन्।
फिल्ममा पनि सबै हास्य कलाकार छन् भनेर गाईजात्रा भन्ने ठान्न मिल्दैन।’ –उनले भने। फिल्मका निर्देशक दिनेश डीसीले पनि फिल्म राम्रो बनेको दाबी गर्दै भने– ‘भयंकर फिल्म बनाएका छौं त भन्दैनौं तर यसमा अन्य फिल्ममा जस्तो गल्ती गरेका छैनौं। कम गल्ती भएको असल फिल्म हो।’ फिल्मका निर्मात्री तथा अभिनेत्री दीपाश्री निरौलाले जुन क्षेत्रले आफूलाई नाम, दाम र इज्जत प्रदान गर्यो, त्यसै क्षेत्रमा आफूले कमाएको पैसा लगानी गरेको बताइन्। अर्का निर्माता तथा निर्मल शर्माले भने विगतमा पनि फिल्म निर्माण गरेको सम्झँदै भने– ‘यसअघि पनि मैले ४⁄५ फिल्म बनाएँ। ती फिल्म सुप्पर डुप्पर फ्लप भएका हुन्। यस फिल्मले नाफा कत्ति दिन्छ त्यो चाहिँ भन्न सक्दिनँ तर लगानी उठाउनेमा ढुक्क छु। यो सफल होइन असल फिल्म हो।’
कार्यक्रममा फिल्मकी नायिका नीता ढुंगानाले आफ्नो भूमिका बिलकुलै फरक रहेको दाबी गरिन्। हुन पनि फिल्मको पोस्टर नाम जस्तै ६ जना पुरुष कलाकारका तस्वीर छन् भने एकानका रूपमा उनी एक्ली देखिएकी छिन्। कार्यक्रमकै दौरान फिल्ममा रहेको छ एकान छ बोलको गीतको भिडियो प्रदर्शन गरिएको थियो। जसमा नीताले छ जना नायकहरूलाई फिदा बनाएको दृश्य देख्न सकिन्छ। पूर्णरूपले मनोरञ्जनात्मक फिल्म रहेको दाबी गरिएको फिल्मको दिनमा हजारौं पटक बोलको गीत राज सिग्देलले सुनाएका थिए।
फिल्मको निर्देशन दिनेश डीसीले गरेका छन् भने दीपकराज गिरीको कथा र संवाद तथा जगदीश्वर थापाको पटकथा छ। दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, सन्दीप क्षेत्री, अर्जुन श्रेष्ठ, शैलेश आचार्य र नीता ढुंगाना प्रमुख कलाकार रहेको फिल्ममा एन बी महर्जनको द्वन्द्व तथा कविराज गहतराज र गम्भीर विष्टको नृत्य छ।
फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने एलीस कार्कीको पाश्र्व संगीत रहेको छ। भूपेन्द्र खड्का र दीपकराज गिरीको शब्दमा शम्भुजित बास्कोटाले संगीत दिएका छन् भने यसलाई हरिवंश आचार्य, राज सिग्देल, किरण केसी, राजन इसान, दुर्गा परियार, युवराज चौलागाईं र निर्देशक स्वयंले गाएका छन्। फिल्म इङ्ल्यान्ड, अमेरिका, अस्ट्रेलियालगायतका नेपालीहरूको बसोबास हुँदै आएका देशमा एक साथ प्रदर्शन गरिने निर्माण युनिटले जनाएको छ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic