बालबालिकाका लागि सबैभन्दा उपयुक्त उपहार के होला ? यसमा धेरैका धेरैथरी मत हुन सक्लान् । तर निश्चय नै बालसाहित्य नै सबैभन्दा उपयुक्त उपहार हो भन्नेमा धेरैको विमति नरहला । केटाकेटीका लागि लेख्ने पनि साहित्यकार हुन् र ? तिनका लागि लेखिने पनि साहित्य हो र ? भन्ने मानसिकता अझै व्याप्त छ । तर गएको मंसिर १९ गतेको एउटा कार्यक्रमले बालबालिका लागि पनि साहित्य लेखिनुपर्छ । अझ तिनीहरूकै भाषामा लेखिनुपर्छ भन्ने आवाज बुलन्द गर्यो । त्यस दिन तीन लेखकहरू शाश्वत पराजुली, श्रद्धा श्रेष्ठ तथा कृष्णदीप सिग्देलका चारवटा बालपुस्तकहरू 'मह बेच्ने भालु', 'मितेरी मनकी दुम्सी पोपो', मेरो घर खोई' र 'सबै भए खुसी' शीर्षकका नेपाली, नेवारी, मैथली तथा अंग्रेजी गरी चारवटा भाषामा प्रकाशित १६ वटा पुस्तकको लोकार्पण भयो । कथालय प्रकाशनको पहलमा नेपालका राष्ट्रभाषाहरू, राष्ट्रियभाषादेखि अन्तर्राष्ट्रिय भाषामा अनुदित गरेर १६ वटा बालपुस्तकहरू प्रकाशित हुनु नै यो कार्यक्रमको विशेषता थियो । यसले बालसाहित्यकार तथा प्रकाशकहरूमा बालपुस्तकको भविष्य सुरक्षित तथा सकारात्मक भएको तरंग प्रसारित गर्यो । बालसाहित्यका अन्वेषक प्रमोद प्रधानका अनुसार नेपाली बालसाहित्यको इतिहासले एक शताब्दी काटिसकेको छ । बालसाहित्यको विकासमा विभिन्न चुनौतीहरू भए तापनि हाल नेपालमा प्रत्येक वर्ष दुई सय पचासभन्दा बढी नयाँ बालपुस्तकहरू प्रकाशित हुने गरेका छन् । यस किसिमको उत्साह र योजनाबद्ध पुस्तक प्रकाशनको तीव्रताले निकट भविष्यमै बालसाहित्यका पुस्तकहरूले नेपाली साहित्यको मूल प्रवाहमा आफ्नो स्थान बनाउने निश्चित छ । बालबालिकालाई नैतिकताको पाठ पढाउन, सूचित गर्न, शिक्षा दिन, मनोरञ्जन दिन, पढ्ने बानीको विकास गर्नजस्ता विभिन्न उद्देश्यसहित बालसाहित्य प्रकाशित हुने गरेको छ । आज बालसाहित्यको उद्देश्य अझै फराकिलो हुँदै गएको छ । विघटन र पुनर्निर्माण भइरहने यस समाजमा बालबालिकाभित्र एउटा असल चरित्र निमार्णका लागि मानवता र लोकतान्त्रिक विचारको बीजारोपण गर्ने जिम्मेवारी पनि बालसाहित्यमाथि थपिएको छ । मानिसभित्र संवेदना, सहिष्णुता र भावनात्मक एकताको विकासका लागि पनि साहित्यको खाँचो हुन्छ । यही जिम्मेवारी र खाँचो पूरा गर्नका लागि आज विभिन्न भाषामा बालसाहित्यको विकास अपरिहार्य भएको छ । नेपाल भाषामा धेरै पहिलेदेखि नै बालकविता लेखनको चलन थियो । तर किताबका रूपमा प्रकाशित भएको थिएन । नेपाल बालसाहित्य समाजको जर्नलमा कवीन्द्र शेखर रिमाल तथा शान्ति शाहीले उल्लेख गरेअनुसार 'नेपालभाषा १-२' नै सबैभन्दा पहिले प्रकाशित भएका बालपुस्तक हुन् । जुन सहिद शुक्रराज शास्त्रीले १९८९ सालमा बालबालिकाले पढुन् र बुझुन् भनेर तयार गरेका थिए । उनीहरूका तथ्याङ्कअनुसार हालसम्म दुई सयभन्दा बढी बालपुस्तक नेपालभाषामा प्रकाशित छन् । नेपालभाषामा बालसाहित्यको विकासका लागि महाकवि सिद्धिदास, जगतसुन्दर मल्ल, प्रेमबहादुर कंसाकार, जगतलाल, सत्यमोहन जोशी, पूर्ण पथिक, दुर्गालाल श्रेष्ठ आदिको योगदान उल्लेखनीय पाइन्छ । मैथिली पनि नेपालमा धेरैले बोल्नेमध्येको भाषा हो । डा. रामदयाल राकेशका अनुसार मैथिली समाजमा लोक परम्पराअनुसार बालबालिकका लागि गाइने र सुनाइने विभिन्न बालगीतहरू र बालकथाहरू पाइन्छ । मैथिली समाजमा बालबालिकाको जन्म भएपछि माङ्गलिक अवसरमा गाइने गीतहरू जस्तै, 'बधाई', 'नामकरण', 'छठियार', 'सोहर' र 'लोरी' जस्ता लोक गीतहरू प्रचलित छन् । अन्य भाषामा जस्तै मैथली भाषामा भइरहेको बालसाहित्यको पनि उचित खोज तथा अनुसन्धान हुनु जरुरी देखिन्छ । नेपाली साहित्य पनि अन्तर्राष्ट्रिय स्तरका छन् । त्यसैले, हाम्रा साहित्यलाई पनि अनुवाद गरी अन्तर्राष्ट्रिय जगत्मा पुर्याउनुपर्ने आवश्यकताबारे बेलाबेलामा चर्चा हुने गरेको छ । तर, केही चर्चित नेपाली पुस्तकले मात्र यस्तो सौभाग्य पाएको देखिन्छ । यसै सन्दर्भमा, नेपाली बालसाहित्यलाई अंग्रेजीमा अनुवाद गरी नेपाली प्रकाशनबाट मुद्रण गर्ने चलन यता केही वर्षदेखि बढिरहेको देखिन्छ । विशेषगरी सहरी क्षेत्र, त्यसमा पनि काठमाडौंमा चलिरहेका निजी विद्यालय तथा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी तथा पढाउने अभिभावकको अंग्रेजी मोहका कारण अचेल अंग्रेजीमा प्रकाशित बालपुस्तकहरूको बजार बढिरहेको हो । यसै बजारको आवश्यकतालाई पूरा गर्न भए पनि नेपाली लेखकका सिर्जनाहरू अंग्रजीमा अनुवाद गरी प्रकाशन हुनु एक हिसाबले राम्रै मान्नुपर्छ । तथ्याङ्कले भन्छ, नेपालमा ९२ भन्दा बढी भाषाहरू प्रचलनमा छन् । जातीय र भाषिक पहिचानका लागि संघर्ष भइरहेको हाम्रो मुलुकमा आज नेपाल भाषा र मैथली भाषामा बालपुस्तकहरू प्रकाशन हुनु सुखद र स्वागतयोग्य छ । समग्र नेपाली बालसाहित्यभित्र तामाङ, लिम्बू, गुरुङ, थारू, शेर्पा, थामी, अबधीजस्ता अन्य राष्ट्रभाषाहरू पनि अटाउनुपर्छ । हुनु त, यसभन्दा पहिले पनि विभिन्न मातृभाषामा बालसाहित्य लेखन तथा पुस्तक प्रकाशन भएको थियो । विभिन्न सामाजिक संस्था, निकाय तथा निजी प्रयासबाट बेला बखतमा थारू, नेपालभाषा, मैथिली भाषालगायत विभिन्न मातृभाषाहरूमा पुस्तकहरू प्रकाशन भएको पाइन्छ । नेपाल बालसाहित्य समाज तथा रुम टु रिडजस्ता सामाजिक संस्थाहरूले विभिन्न समयमा मातृभाषामा बालसाहित्य लेखन तथा पुस्तक प्रकाशन गर्दै आएका छन् । तर, सीमित स्रोतसाधन, प्रचारप्रसार तथा खोजअनुसन्धानका कारण मातृभाषाहरूमा प्रकाशित बालपुस्तक तथा साहित्यको चर्चा परिचर्चा हुन बाँकी देखिन्छ । बालबालिकाले आमाबुबाबाट सबैभन्दा पहिला सिक्ने भाषा भन्नु नै मातृभाषा हो । त्यही भाषामा बालबालिकाले पढ्न र लेख्न जानेमा उसको बौद्धिक विकास सरल र सहज हुन्छ । आफूले घरपरिवारमा सबैभन्दा पहिले सिक्दै आएको भाषाबाहेक अन्य भाषाबाट अभिव्यक्त गर्नु बालबालिकाका लागि कठिन हुन्छ । मातृभाषामा रमाउने बालबालिकामा गैरमातृभाषाकै कारणले हीन भावना उत्पन्न भएको धेरै उदाहरण पनि पाइन्छ । आत्मविश्वासको कमीले भाषिक विविधताले भरिएको समाजमा ऊ पछाडि पर्न सक्छ । सम्भवतः यसैलाई मध्यनजर गरी प्राथमिक स्तरमा मातृभाषामा पठनपाठन गर्ने गराउने शिक्षा नीति पनि बनेको हो । शिक्षा नीतिमा जे भए पनि, मातृभाषामा प्रकाशित बालपुस्तकको संख्या भने न्यून रहेको छ । शिक्षा नीतिलाई अवलम्बन गर्दै, केही जागरुक शिक्षकहरूले मातृभाषामा पाठ्य सामग्रीको पाण्डुलिपि आफैं तयार गरेर आफ्नो समुदायका बालबालिकालाई पढाएका उदाहरणहरू छन् । यस्तो परिस्थितिमा प्रकाशकहरूले मातृभाषामा तयार भएका योग्य पाण्डुलिपिहरूलाई पहिचान गरेर प्रकाशन गर्न सके बालबालिकाको मातृभाषामा पढ्न पाउने अधिकार एकातिर सुनिश्चित हुने थियो भने अर्कोतिर स्थानीय शिक्षकहरूलाई हौसला मिल्ने थियो । एक हातले ताली बज्दैन भनेझैं, मातृभाषामा बालपुस्तकको प्रवर्द्धन गर्नका लागि शिक्षक तथा प्रकाशकको पहलले मात्र सम्भव छैन । यसका लागि नेपाल सरकारले मातृभाषामा छापिने पुस्तक प्रकाशन खर्च र वितरणमा विशेष सहयोग र योजना बनाउनुपर्ने देखिन्छ । विभिन्न भाषा बोल्ने जनजातिको बसोबासको स्थिति अध्ययन गरेर त्यहाँ सञ्चालन भइरहेका विद्यालय तथा पुस्तकालयमा मातृभाषामा प्रकाशित पुस्तकहरूको निश्चित प्रति अनिवार्य खरिद गरी वितरण गर्ने गराउने प्रणालीको विकास गर्न सकेमा बालपुस्तकको प्रवर्द्धन द्रुत गतिमा हुन सक्छ । घटीमा पनि, विद्यालयको बजेटमा 'पुस्तक किन्ने' शीर्षकमा रहेको रकमले पुस्तकबाहेक अरूमा खर्च गर्न नपाउने नियमलाई कडाइका साथ पालना गर्न गराउन सकेमा पनि हालका लागि बालसहित्यको विकासमा ठूलो राहत हुन्थो । बालसाहित्य कल्पनाले भरिभराउ हुन्छ, जहाँ बालबालिका उड्न सक्छन्, पौडन सक्छन्, दौडन सक्छन् र थाकेर चुर भएमा एकछिन् सुस्ताउन सक्छन् । त्यहाँ कुनै कुरा असम्भव छैन, सबै कुरा सम्भव छ । त्यहाँ ढुंगा बोल्न सक्छ र रूख उड्न सक्छ । हजुरबालाई भीरबाट फाल्न खोज्ने बुबाआमालाई नातिनातिनाले तह लगाउन सक्छन् । के यस्तो रमाइलो र उपयोगी बालसाहित्यका पुस्तकलाई कसैले 'नाइँ' भन्न सक्ला र ?
मातृभाषामा बालसाहित्य
Local
Local
Label 2
Label 5
Random Post
Label 3
Powered by Blogger.


0 comments
Write Down Your Responses