विस्तारित बाटोको काम युद्धस्तरमा पूरा गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवम् काठमाडौँ उपत्यका सडक विस्तार उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बास्कोटाले विस्तारित बाटोको काम युद्धस्तरमा पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।विस्तारित सडकको शनिवार अनुगमनपछि उहाँले समयमा काम पूरा नगर्ने, ढिलासुस्ती गर्नेलाई कालोसूचीमा राखेर कारबाही अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौला, सहरी विकास मन्त्रालयका सचिव किशोर थापालगायत उच्च पदाधिकारीसँगै स्थलगत अनुगमनमा निस्कनु भएका संयोजक बास्कोटाले “निर्माण व्यवसायीले काममा हेलचेक्रयाई गरेका छन् भने तिनलाई सचेत गराउने, त्यसो गर्दा पनि अटेर गरे ठेक्का सम्झौता खारेज गर्न” निर्माणस्थलमा खटिएका सडक विभाग र मातहतका इन्जिनियर, प्राविधिक एवम् सम्बद्ध कर्मचारीलाई निर्देशन दिनुभयो ।
सचिव बास्कोटाका अनुसार हाल काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले १६ वटा सडक खण्डमा ३२ किलोमिटर निर्माणको जिम्मेवारी पाएकामा नौ किलोमिटर कालोपत्र भइसकेको र एक हजार ८०० मिटर माईतीघर-तीनकुने खण्ड र एक हजार ७०० मिटर गौशाला-बानेश्वर-शङ्खमुल खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।
त्यसैगरी डिभिजन सडक काठमाडौँअन्तर्गत ३२ वटा सडक खण्डमा ३६ किलोमिटर निर्माणको जिम्मेवारी रहेकोमा ११ किलोमिटर ‘पिच’ भइरहेको र डिभिजन सडक ललितपुरको जिम्मामा रहेको २७ वटा सडक खण्डको २९ किलोमिटरमध्ये सात किलोमिटर पिच भइसकेको छ । संयोजक बास्कोटा नेतृत्वको टोलीले लैनचौर-महाराजगन्ज, वनस्थली-भगवान्पाउ, स्वयम्भू-छाउनी, कालीमाटी-टियु गेट, भँैसेपाटी खण्ड, कर्मनाशा सडक, चक्रपथ विस्तार र माईतीघर मण्डला-तीनकुने सडकको अनुगमन गरेको थियो । रासस

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic