मन्डेलाको पार्थिव शरीर अन्त्येष्टिकालागि कूनूमा

मन्डेलाको पार्थिव शरीर राखिएको बाकसलाई सैन्य सम्मान अर्पण गरिएको थियो
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलाको पार्थिव शरीरलाई आइतबार गरिने अन्त्येष्टिकालागि उनको पुर्खयौली घर रहेको ठाउँ कूनू पु-याइएको छ।
उनले बाल्यकाल बिताएका सो ठाउँ जाने सडकको छेउमा मानव साङ्लो बनाइ उनीप्रति सम्मान व्यक्त गर्न मानिसहरूको घुइंचो लागेको थियो।
त्यस क्रममा गाउँले महिलाहरुले “घर आउ मन्डेला, घाम अस्ताइ सकेको छ” भन्दै भाव विह्वल स्वरमा विलाप गरेका बीबीसी संवाददाताहरूले बताएका छन्।
मन्डेलाको पार्थिव शरीर राखिएको बाकस दक्षिण अफ्रिकाको झण्डाले बेरिएको थियो र त्यसलाई प्रहरीका गाडी तथा मोटरसाइकलको जत्थाको साथमा कूनू पु-याइएको थियो।
शवयात्राको क्रममा सो बाकस पहिले विमानमार्फत पूर्वी केप क्षेत्र पु-याइएको थियो।
सैन्य सम्मान
मन्डेलाको खलक तथा परिवारका वरिष्ठ सदस्यहरूसंगै लगिएको सो शव बोक्ने बाकसलाई एमथाथा विमानस्थलमा सैन्य सम्मान अर्पण गरिएको थियो।
"घर आउ मन्डेला, घाम अस्ताइ सकेको छ"
कूनूका गाउँले महिलाहरू
पूर्वी केप क्षेत्रतर्फ जाँदा सो विमानसंगै दुईवटा लडाकू विमान पनि उडेका थिए।
कूनूमा थेमु समुदायले विशेष रूपमा स्थापित एउटा ठूलो पालमुनि पारम्परिक समारोहको आयोजना गरेको छ।
त्यसअघि दक्षिण अफ्रिकाको सत्तारूढ दल अफ्रिकी राष्ट्रिय कंग्रेसले आइतबार हुने मणन्डेलाको अन्त्येष्टिअघि उनीप्रति अन्तिम श्रद्धान्जली चढाएको थियो।
बहुधार्मिक प्रार्थनासभा तथा सांगितिक श्रद्धान्जली पनि समावेश गरिएको सो समारोहमा दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा तथा अफ्रिकी राष्ट्रिय कंग्रेसका अन्य नेताहरू सहभागी थिए।
कुनै बेला मन्डेलाले नेतृत्व प्रदान गरेका सो दलका एक हजार भन्दा बढी सदस्यको पनि उक्त समारोहमा सहभागिता थियो।
मन्डेलाको पार्थिव शरीरलाई प्रिटोरियामा गत तीन दिनसम्म राजकीय सम्मानकासाथ राखिएको थियो जहाँ कम्तिमा एक लाख मानिस हेर्न पुगेका थिए।
उनको गत हप्ता ९५ वर्षको उमेरमा निधन भएको थियो।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic