एक हजार छसय मेगावाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र माग

जलविद्युत् उत्पादनको अनुमतिपत्र लिए पनि लामो समयसम्म निर्माणको काम सुरु नगरेको भन्दै चर्को आलोचना खेपिरहेका निजी क्षेत्रका प्रवद्र्धकले उत्पादन अनुमतिपत्र लिन भने पछिल्लो दिनमा उल्लेखनीय चासो देखाएका छन् ।
यस वर्ष मात्रै निजी क्षेत्रका प्रवद्र्धकले सरकारबाट कुल ३८ वटा आयोजनाको उत्पादन अनुमतिपत्र मागेपछि सो कुराको पुष्टि भएको हो ।
मुलुकले चरम ऊर्जा सङ्कट व्यहोरिरहेको बेला चालु वर्षको सात महिनामा मात्रै करिब एक हजार ६०० मेगावाट क्षमता बराबरको उत्पादन अनुमतिपत्र पाऊँ भनी निजी क्षेत्रका प्रवद्र्धकले निवेदन दिएका छन् । विभागका अनुसार सर्वेक्षणको काम पूरा गरेर उत्पादन अनुमतिपत्र पाऊँ भनी निवेदन दिएका आयोजनाहरू अझै धेरै बढ्ने देखिएको छ ।
सर्वेक्षणको काम सम्पन्न गरेका जलविद्युत्् आयोजनाका प्रवद्र्धकहरूले सरकारसँग उत्पादनको अनुमति माग्ने क्रमलाई पछिल्ला दिनमा तदारुकता देखाएका कारण उल्लेखनीय सङ्ख्या देखिएको हो । सरकारले उत्पादन अनुमति मात्रै दिएका आयोजना निर्माण सुरु हुने हो भने मात्रै पनि आगामी चार वर्षभित्र मुलुकलाई विद्युत् भार कटौतीमुक्त मुलुकका रूपमा चिनाउन सकिन्छ ।

विद्युत् विकास विभागका अनुसार चालु वर्षको सात महिनासम्म मनाङमस्र्याङ्दी जलविद्युत् कम्पनीले २८२ मेगावाट क्षमताको राहुघाटको उत्पादन अनुमतिपत्र मागेको छ । पछिल्लोपटक अनुमतिपत्र माग गरेको आयोजनामध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।
यसैगरी नौलो नेपाल हाइडूोपावर लिमिटेडले निर्माण गर्न लागेको २६० मेगावाटको बूढीगण्डकी ‘ख’ र सोही कम्पनीले निर्माण गर्न लागेको १३० मेगावाटको बूढीगण्डकी ‘क’ले पनि अनुमतिपत्र मागेका छन् ।

 विद्युत् विकास विभागका अनुसार यसै वर्ष उत्पादन अनुमति माग गर्नेे अर्को आयोजना हो माथिल्लो राहुघाट । तुदी पावरले निर्माण गर्न लागेको सो आयोजनाको कुल क्षमता ४८.५ मेगावाट रहेको छ । त्यस्तै श्वेतगङ्गा जलविद्युत् एन्ड पावर कम्पनीले निर्माण गर्न लागेको तल्लो लिखु पनि यसै वर्ष अनुमतिपत्र माग गर्ने अर्को आयोजना हो । सो आयोजनाको क्षमता २८ मेगावाट रहेको छ ।
 नेपाल उद्योग वाणिज्य महासङ्घका ऊर्जा विभाग प्रमुख एवम् व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले निर्माण गर्न लाग्नुभएको माथिल्लो खुदीले पनि यसै वर्ष अनुमतिपत्र पाउने प्रतीक्षामा रहेको छ । सो आयोजनाको क्षमता २६ मेगावाट रहेको छ ।

 विभागमा उत्पादन अनुमतिपत्र माग गर्ने अर्को आयोजना हो माथिल्लो मस्र्याङ्दी । अपर मस्र्याङ्दी हाइडूोपावरले निर्माण गर्न लागेको सो आयोजनाको क्षमता १३८ मेगावाट रहेको छ । यसैगरी धादिङ जिल्लाको गल्छीनजिक सिद्धकाली पावरले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशूली गल्छी आयोजनाले पनि यसै वर्ष उत्पादन अनुमति पाऊँ भनी निवेदन दिएको छ ।
 दिव्यज्योति जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको कुल ५० मेगावाट क्षमताको मस्र्याङ्दीबेसी जलविद्युत् आयोजनाले पनि यसै वर्ष विभागमा अनुमतिका लागि निवेदन दिएको छ । विभागका अनुसार पिपल्स हाइडूोपावरले निर्माण गर्न लागेको सुपर दोर्दी ४९.६ मेगावाट, निलगिरि खोला जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको निलगिरि ३८ मेगावाटले पनि यसै वर्ष अनुमतिपत्र माग गरेका छन् ।

 यस्तै तुदी पावरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, लिवर्टी इनर्जी हाइडूोपावरले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी पनि यसै वर्ष अनुमतिपत्र पाउने अपेक्षामा रहेका छन् ।
विभागका सूचना अधिकृत गोकर्णराज पन्तका अनुसार विभागमा उत्पादन अनुमतिपत्र पाऊँ भनी कुल ८२ वटा आयोजनाले अनुमतिपत्र मागेका छन् । अनमुतिपत्र मागेका सबै आयोजनाको सूक्ष्म अध्ययन गरेर उत्पादन अनुमतिपत्र दिइन्छ । हालसम्म विभागले कुल ७६ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र दिइसकेको छ । ती आयोजनाको कुल क्षमता दुई हजार ३३ मेगावाट रहेको छ ।

0 comments

Write Down Your Responses

Local

Local

Label 2

Label 5

Random Post

Label 3

Powered by Blogger.

Randon Post

Trending Topic